लाखौको लागि उजाड छ यो देश, मुठ्ठीभरलाइ त स्वर्ग छ

देश भन्नु त के रैछ र चारकिल्लाको माटो

त्यै माटो नि उनकै मात्रै जो छन् टाठो बाठो...
क्या गीत बनाएछन प्रकाश सपूतले!
गीत सुन्दै गर्दा मलाइ चाहि एकजना आर्किटेक्ट भाइको याद आयो| कुनै एउटा हिउँदमा हामी सिंहदरबारको माइक्रोट्रेमर टेस्ट गर्न सिंहदर्बार गएका थियौं र त्यहाँ एकजना आर्किटेक्ट भाइ थिए प्रोजेक्ट हेरिरहेका, उनलाई मैले हाम्रो उद्देश्यको बारेमा भनें र एक्सेलरोमिटर केही समय राख्ने बताएँ| ती भाइले मलाइ यस्ता प्रश्न सोधे:
'सुरक्षा खतरा हुदैन?', 'यो त देशको सबैभन्दा संवेदनशील ठाउँ हो, कहाँ मिल्छ र?' 'माथि सोध्नुपर्छ' आदि आदि|
त्यो पछी उनले इन्टेलिजेंसको मान्छेलाइ खबर गरे, तर उनले सोचिरहेका थिए कि मलाइ त्यो कुरा थाहा छैन उनले इन्टेलिजेंसलाइ खबर गर्दैछन भनेर| फौजको संगत राम्रै हुने मलाइ यो कुरा बुझ्न खासै गाह्रो परेन, ती अफिसर आए, मैले कुरा गरें र हामीले टेस्ट पनि गर्यौँ!
मलाइ बारबार दिमागमा आइराख्ने एउटा प्रश्न छ, 'आखिर करारमा जागिर खाने र देशभरी गोठ बनाउने एउटा अड्डाको सामान्य कर्मचारीले त यो देशको सुरक्षाको यति धेरै रखवारी गर्छ भने हाम्रो देश किन बलियो नभएको होला है?'
अनि यसो सोच्छु, त्यो भाइ अहिले प्रोजेक्ट सकिएर सिंहदरबार छिर्न माथिको कल या पास कुरिरा होला! फेवाताल टहल्दै गर्दा एक दिन मैले सशस्त्र प्रहरीको एक पूर्व आइजीपीलाइ देखें र राम्रोसग चिने पनि, छेउमै सशस्त्रको रेस्क्यु युनिट थियो, उनीहरुलाई मतलब थिएन त्यो मान्छेसग (मैले चाहिं २०६२/६३ को आन्दोलनभरि उनले गोली चलाएको फोटो भाइरल भएकोले उनलाई चिनें), ती आर्किटेक्ट भाइ, राइ आइजीसाप, र यस्तै नियो-एलिट्स हरुलाई शक्तिमा हुन्जेल मैले कन्ट्रोल गरिन भने त देश नै ध्वस्त हुन्छ भन्ने लागिरहन्छ, त्यसैले देश हामीजस्ता भुइमान्छेहरुको कहिल्यै पनि हुँदैन| नेपाल मात्रै त्यस्तो देश होला जसले पावर बिनाका आफ्ना नागरिकहरुलाई सिधै अपराधी सोच्दिन्छ! नपत्याए अन्तरराष्ट्रिय विमानस्थलमा हेर्नुस त, गोरो छाला भएका एक्सपर्ट्स (विदेशी जेसुकै प्रयोजनका लागि आए पनि यो देशमा विज्ञ भैहाल्छ) र हामीलाई गर्ने व्यवहार! एक चोटी एउटा इमिग्रेसन अफिसरले मलाइ, 'भिजा त यति कम समयलाइ रैछ किन जानुहुन्छ?' भनेर सोध्यो, मलाइ अचम्म लाग्यो, यदि डिपोर्ट गर्ने हो भने त मलाइ डिपोर्ट गरिहाल्छ नि, तपाईलाई के समस्या छ भनेर मैले भन्दिए, उ चुप लाग्यो! मतलब आम मान्छे भनेको स्वत: अपराधी हो, आम मान्छे हिड्ने भनेकै आपराधिक प्रयोजनलाइ मात्रै हो!


एक चोटी म राष्ट्रिय भूकम्प मापन केन्द्रमा भूकम्पका केही रेकर्ड्स माग्न गएको थिएँ, मलाइ त्यहाको कर्मचारीले दिएको जवाफ यस्तो थियो, 'यो डेटा निकै संवेदनशील डेटा हो, यसरी कहाँ भन्नेबित्तिकै दिन मिल्छ र!' जो त्यहाँ जानुभएको छ, त्यहाँ भएका फ्रेन्च एक्सपर्टहरु त देख्नुभएकै होला, उनीहरुले प्रयोग गर्न मिल्ने, कन्ट्रोल नै गर्न हुने तर नेपालीले आफुले कर तिरेको निकायको डेटा नपाउने-- कस्तो गज्जब शैली छ हाम्रो!
अस्ति न एउटा कलेजका प्रिन्सिपललाइ मैले सोधें, करदाताको पैसाले बनाको सडक भत्काएर कसरी अधिकार पाइन्छ? उनले जवाफ दिए, 'शक्तिको नजिक पुगेर आन्दोलनलाइ बद्नाम गर्ने?' म प्रायजसो सरकारी कार्यालयमा जाँदा दिइने कालो चिया पनि खान्न, मलाइ सरकारको नुन खाएर ऋणी बन्न मन छैन, यदि खाएकै भए पनि मैले भरपाई गरेकै हुन्छु, बिभिन्न स्वरुपमा! उनले देखेको भनेको नास्टसग जोडिनु होला सायद, तर उनले नास्टसग जोडिने कुरा आर्थिक लेनदेन छैन भन्ने बुझेनन् र मलाइ शक्तिको पछी लागेर आन्दोलनलाइ बद्नाम गर्न खोजेको आरोप लाए, समग्रमाचाहि उनीप्रति होइन आम मान्छेले चुपचाप सहनुपर्छ र आफ्नो धारणा राख्नु हुदैन भन्ने कुरा नव-सामन्तहरुले स्थापित गर्न खोजेको हो!
एक चोटी बेंकमा मलाइ आइडी कार्ड मागे, मैले भनें, 'चेक मेरो, मैले साइन गरेको छु, पैसा मेरो, यसमा तपाईलाई के समस्या छ? तपाईलाई विश्वास गरेर म पैसा राख्छु, मेरै पैसा निकाल्न मैले आफुलाई जस्टिफाई किन गर्नुपर्ने? मेरो खाता बन्द गर्नुस अहिले नै!' ती भाइ अलिक हच्किए र सुरक्षाको कुरा गरे, मैले भाइलाइ सम्झाएँ, 'भाइ हाल्फ़ पाएन्ट लाएर ५-१० हजार निकाल्न आउने मान्छेले तिमीलाई खतरा उत्पन्न गर्दैन, जसले देशको पैसा चरम दुरुपयोग गरेको छ,भ्रष्ट्राचार गर्छ, लुट्छ, उ त तिमीले देख्नै पाउदैनौ, तिम्रो हाकिमले उसलाई होम बेन्किंग सुविधा दिन्छ, देश लुट्ने, अपराध गर्ने भनेका तिम्रो समाजले देखेका सो कल्ड भीआइपी हुन् भाइ!' मैले लुटेर कहाँ जान्छु र तर देश लुटेर हिडेकाहरु विमानस्थल पनि सजिलै पास गर्छन, पुलिसले भीआइपी रुममा लैजान्छ!' त्यो भाइ कन्भिन्स भयो!
नव-सामन्तहरु (निओ-एलिट्स) हरुले बनाएको देशको परिभाषामा हामी स्वाभाविकरुपमा अटाउदैनौ, र न अटाउनुमा मज्जा पनि छ, किनकि हामीलाई सुरक्षा खतरा छैन, चिल भएर हिड्न पाइन्छ, मन लागेको बोल्न, औ गीत गाउन पाइन्छ, आम मान्छेलाइ देश भनेको त माटो पनि होइन, प्रशासन हो, आम मान्छे देशभक्त हुदैन, देशभक्त त ती हुन् जसले यो देशलाई घुस खाएरै भए पनि गुण लगाएका छन्,
भीआइपीहरुलाई देश जोगाउने चिन्ता भएजस्तै मलाइ अक्सर बेलुकीपख देउजनथोककी ८५ वर्षिया बिन्छिरी गुरुङ आमाको भत्केको घर कसरी बनाइदिने होला, के खानुभो होला भन्ने कुरा मनमा खेलिरहन्छ, पर्वत माझफाँटको दलित वस्तीको बुइगलसम्मै खानलाई कुनै पनि कुरा नभएको देखेको यो मन बारबार सोच्दै भौतारिन्छ, आखिर हो नि है, यसरी गरीब र निमुखा नभईदिने भए विचरा नव-सामन्तहरुको इज्जत कसरी बच्थ्यो होला र! हो हामी आम मान्छेले भीआइपीहरुको इज्जत राख्दिनै पर्छ...
अन्त्यमा, लाखौको लागि उजाड छ यो देश, मुठ्ठीभरलाइ त स्वर्ग छ...

Comments

Popular posts from this blog

Home

The Tunnel is Mine

Madhesh blues