अगष्ट २: एक झमेल असंगति

मन्द वर्षातको पल थियो, वाइपरले पानीका साना फोकाहरु अक्सर हटाइराख्ने भए पनि, पलभरकै लागि हटेका थिएनन, गृष्म गएकी हुनाले आर्द्र त थियो तर मलिन औ मधूर! चन्द्रागिरी पर्वत लमतन्न चिहाउने सानो दोबाटो मिसिनै लाग्दाका केही उत्साही औ उम्दा र अग्ला घरहरुबीच कुनै मोटर रोकिएको थियो-हजारिका सोच्दा हुन, "समय ओ धीरे चलो..."

हो म अन्त्य चाहन्थें, सायद त्यो अन्तिम पल पनि त हुन सक्थ्यो, सुरेश दाइले मलाइ, "ओ मेरे सपनोके सौदागर.." गीत सुनाउनु भएको नामेट पलजस्तो अमीट स्वप्न वाटिकाजस्तै तिलस्मी औ उरांठ बयेलीहरु अवश्यै थिए, तिमी निलो कोटमा थियौ, चिरपरिचितहरुको सामीप्य। अचानक नयनहरु बगेका थिए, सजिलै म सरित थिएं, "त्यो कान्तिपूरमा सपनाको सुरमा सम्झ्यो कि प्याराले"!
लोमान्थाङ्ग पर्वतको बाटो छिचोलेर छोसेर झर्दै गर्दा ताराका प्रिय गणहरु साक्षी राखेर मैले तिमीलाइ चाहेको बताएं, झर्ने ताराहरु प्रिय भए, आकृति तिम्रो थियो-मन्द, मलिन, (अ)मादक, मधूर, औ मायावी!
बतासले साना वृक्षहरु लोलाउंछ बाहिर, मलाइ बतास मन पर्यो, केही थान कागजहरुले तिम्रा रसिला नयनहरु पुछेर तिमीलाइ सप्रेम स्पर्श गर्छु, "धन्यवाद!"
धन्यवादहरुमा हुने अक्सर बेमेलहरुको इम्तिहान मथिङ्गलको शुष्क पर्दामा अद्यापि हुनुको मधुरिमा आज लासझैं जागेको छ, भूत औ भूतको नृत्यझैं।


आखिर त्यो के थियो होला है? प्रश्नार्थी नयनहरुले अक्सर झमेल चोक पुग्नै लाग्दा नियालिरहन्छन, विस्मृत हुनुको पो मज्जा, छचल्किरहने ताल, सरित सरिता, हिमाच्छादित पर्वतहरु, पत्झरहरु, ऋतुराज, कोइली, औ बयेलीहरु त परिवर्तनशील औ परवानाहरुलाइ पो पल्लवी लाग्छन। अनि तिमी?
म त उही "समय ओ धीरे चलो", अझ मलाइ समयको प्रवाहलाइ अव्यक्त बनाएर घडी टक्क रोकेर भन्न मन हुन्छ,
"झ्याल तिमीलाइ म माया गर्छु!"
बतासले सुन्ला भनेर ओठहरु मन्द चलाएरै यावत प्राप्तिको आलिङ्गनमा हुन्छ समय। समयले केही वसन्तहरुको हत्या गर्यो, समयलाइ झ्यालखाना हाल्न मिल्दैन?
झ्याल खोलेर हेर्छु, मध्य श्रावणमा सुस्त चिसो बतास चलेको छ, सप्को हराएझैं कुनै स्मृतप्राय तिम्रो चाल छ, अदृश्य भैकन पनि यावत ब्याप्त आकृति सजीव औ स्वप्नशील छ, मसिना पानीका फोकाहरु बन्दै, फैलंदै र फुट्दै छन, यानि सबै सबै उही छन, बदलिएको एकैमात्र परिवेश छ-तिमी! कति प्रिय सुनिन्छ है तिमी भन्दा?
त्यो अगष्ट २ कहिल्यै नआएको या त्यो अगष्ट २ पछि कहिल्यै समय नबदलिएको भए?
सायद वसन्तहरु कहिल्यै नआउने थिए, वर्षात आफैं पूर्ण थिइ, अविअरल, नित्य, औ पूर्ण!
"ए झरी नझरिदेउ यसरी...."

Comments

Popular posts from this blog

Home

The Tunnel is Mine

Madhesh blues