ज्याकारांडा ब्लसम औ अमर बेलीकुन्जहरु : एक उच्छवास

महाभारत पर्वतको कुनै प्रेमिल खोंचमा तिमी र म धूप छल्न खुट्टा खहरेको पानीमा डुबाएर बसेका थियौं, आवेग कति पनि नहुनु, बेलीकुन्जहरु सुस्काइरहनु, आक्कलझुक्कल उड्ने प्रेमिल चराहरु हेर्दै मुस्कुराउनु र पीपलको छांयामा सुस्ताउनु प्रिय थियो। स्विकृत भएर हुंदो हो तिमीमा आभा थियो, म मा चाहि युगीन अवान्तर! म चिया बनाउंछु, परिस्कृत लवजहरुमा तिम्रो अर्धअनुशीलनको लवज अंकुराउछ, म सम्मतिमा टाउको हल्लाउंछु।

प्रकाश श्रेष्ठको "खुट्टाले खेलाउदै पानी.." मा म बेसुर आयाम गुनगुनाउंछु, तिम्रो प्रिय गीत, "मैले गीत छोडी आएं.." गाउन लगाउंछौ। यो कुनै आवरणको सान्निध्य थिएन झैं लाग्ने उकेरा थियो, यानि बन्धन औ म सुस्ताउने प्रिय आलिङ्गन पनि!
पीपल हुने चौतारीको बायांपट्टि फुलेका केही तृप्त फूलहरु मलाइ शिरफूल बनाइदिन मन हुन्छ, टिपेर एउटा दिदैं म तिमीतिर हेर्छु, "तिम्रो लागि!"
शिरमा लगाउदा तिमी राजामतीजस्तै हुन्छौ नि, हो मलाइ तिमी पनि राजामती नै लाग्थ्यो, कुनै नेवारी गीतको तिम्रो फर्माइसलाइ म "ढङ्ग मरुमा भम्चा" गाएर उडाइदिन्थें औ "माया रे रत्न जिना छंके माया" गाउन निकै प्रतीक्षा गराउथें।
अजीर्ण अवश्यै त थियो, उत्साही रातहरु अनिदा बनाएका कैयन कल्पहरु स्मृतिको फांटहरुमा अद्यापि आउंछन, उस्तै लाग्छ मलाइ पनि, "भ्रमर चुम्बनका शिरिषका फूलहरुजस्तै!"
सांच्चै शिरिष थियो या ज्याकारान्डा? शिरिष कहिल्यै नदेखिने औ

ज्याकारान्डाको मेहफिल उदात्त लाग्ने हुंदा मलाइ तिमी ज्याकारान्डाजस्तै लाग्थ्यो-वैजनी!
तिमीमा आखिर के थियो? अझ म के चाहन्थें तिमीबाट? अदृश्य यस्तै छालहरु त्यो खहरेमा पनि थिए, मैले पार्किङ्ग अलिक टाढै गरेको हुनाले हत्तपत्त आवाजहरु पर्दापछाडि आउंदैनथे!
सिमसिम झरी परेको मार्च महिनामा पनि महाभारत आर्द्र थियो, उस्तै आर्द्रता तिमीमा पनि-अनायासै मैले तिम्रो नाम अजर पो बनाइदिएं है? तिमी मुस्कुराउदै "मेलो लाजा!" लवजको बहार ल्याउथ्यौ।
एकनास सन्नाटामा अव्यक्त कतिपय प्रसङ्गहरु उजागर भैरहेछन, उस्तै कलकल छ्हराको आयाम आउंछ बेमेल यादमा अनि बिदीर्ण भैकन अनि यादगार औ स्मृत नयनहरु सगै आउछन वर्षातमा।
छाता र नाता दुबै हुंदाको वर्षाको फेहरिस्त प्रेमिल पानाहरुको अर्को नाम हो, झमेल तिर हुनेजस्तै च्या चौतारी औ आयामी प्रेमका पल्लवहरु। हरित र सरित हुन्जेल अतृप्त नयनहरु अझै उत्साही छन? हिमालहरु नि?

Comments

Popular posts from this blog

Home

The Tunnel is Mine

Madhesh blues