स्टोन्ड ह्यालुसिनेसन: बुढो भैंसीको छोयला, ठों औ कवाली

अनि?

अनि सहर त्रिवेणी हो, संगमभन्दा ज्यादा अनुभूत औ पल्लवित। मेरो सहरको यादगार अन्तिम सर्को मलाइ वासन्ती भोगटेका बास्नादार हावातुल्य बयेलीहरु, वैजनी औ कामुक ज्याकारान्डा ब्लसमहरु, औ रुमानी यादहरु बनिदिन्छन, यानि अन्तिम प्रश्वास!
आकाशगङ्गाको नियुक्त यात्राले तन्नम भै पदार्पित हुने बुख्याचा यादहरुको लहरो तानेर तार दिनु, घमाइला औ मधुर रातहरुको आभा टिपेर कानमा फूल बनाइ राख्नु औ बेतार हुने अविच्छिन्न यादहरुको वेणी पोत्दै लालिमाको सुगन्ध पान गर्नु?
प्रेम गर्छौ? अहं! हावाले उत्तर दिन्छ, स्नेहका धुमिल अनावरणहरुले विरक्त भै नजगाएका प्रीत पल्लवहरुको बेजोड विछोडमा मलाइ रमाइलो लाग्न थालेको यौटा वसन्त न भयो! ह्या जाबो प्रेम!
प्रसङ्ग कतिपयमा
चुकझैं लाग्ने भोगटेका फूलहरु कार्यस्थल बाहिर झुमेका छन, झोंछेको भाषामा स्टोन्ड! भोगटेको फूलको सुवास आधी जगलाइ पत्तै नदिइ बिलाइसकेको हुन्छ, देवकोटाले दाडिम लेखेको मीठो फल भएर हो? चुक नै लागे पनि सन्नाटा चिरेर आक्कलझुक्कल आउने भोगटेहरुको प्रिय सुवास मसम्म आइदिन्छ, यो रुमानी यादभन्दा फरक औ परिस्कृत छ, मुस्कुराहट छैन यस्मा न त अप्रिय औ अप्राप्य लाग्ने मन्द हावाको सर्को छ। यानि मलाइ सबअल्टर्न भोगटेको प्रीत शीतभन्दा सघन लाग्छ, प्रिय संगमहरुमा-आहत, आगत, र आह्लादहरुमा।


फरक आवेग र यौनिकताको अतृप्तता: वैजनी ज्याकारान्डा ब्लसम
म लेखक होइन, थिइन औ बन्न चाहन्न! यदि हुन्थें त मैले राख्दिएको "ज्याकारान्डा ब्लसम" चेरी ब्लसमजस्तै कामुक बनिसक्थ्यो, इटका साना छिद्र छेडेर आउने ऐला र ठोंका मन्द विडरुपी परकम्पहरुजस्तै! सर्वाङ्ग सहरको एकै मास म फ्यान हुं, ज्याकारान्डा ब्लसमको बेला! तपशील प्रेमिल यादहरुको वसन्तको मृत्युको अन्तिम संस्कारमा म झुकेर हिंड्छु- चोप लाग्छ भन्छन, वैजनी अशुभ मान्नु ठीक हो? यानि अर्ध सर्वाङ्गजस्तै हुने ज्याकारान्डा ब्लसम मलाइ सहरले बिकिनी लगाएको हो भन्नेमा ढुक्क छु, सारै तिलस्मी लाग्ने, हिमालको हावासग मिसिएको प्रेमिल आलिङ्गनजस्तै यौवनको उच्छाल नियात्रा-हात समाउदै हिड्ने याक गोठालाहरुजस्तै!
प्रेमको अन्त्य: रुमानी यादहरु
माया गर्छौ मलाइ? यसरी सुरुवात भै पालुवमै अन्त्य हुने कहानीहरुको थुप्रो सिस्डोलभन्दा अग्लो होला हगि? उही आकाश ओढेर फरक समयमा सुते पनि च्यादरहरु साटिने औ च्यादरमा आउने झल्को-एक अप्रिय ह्यालुसिनेसन, हेल्मेटको जस्तै औ पछ्यौरामा हुनेजस्तै! देवीको मन्दिर नजानु, मफ्लर गिफ्ट नदिनु, सगै मन्दिर नजानु, आदि आदि!
म कुपन्डोलतिरको सबैभन्दा पुरानो जांडभट्टीको अन्तिम सिटमा बसेर टोक्नै नसकिने खाले छिप्पिएको बुढो भैंसीको छोयला सितन मगाएर फिस्स हांस्छु, अचानक मनले जिस्काउंछ, "ये सहर बिकगया हे!" मलाइ जांड लागेछ, ठ्यासफु!
यादहरु आउंछन यादहरु जान्छन, सहर फेरि उही त्रिवेणी न हो-अप्रिय संगम, बेमेल हिरासत, अव्यक्त अनुभव औ सन्निकट अन्त्यहरुको...

Comments

Popular posts from this blog

Home

The Tunnel is Mine

Madhesh blues