विस्फारित चक्षुहरु

अर्किर्ण भै फक्रेका लालुपातेहरुले पनि हेमंतीय स्वच्छन्दताका अवयवहरु बोकिदिएपछी विगत वर्षको अन्तिम साता र यो वर्षको सुरुवात तिलस्मी रह्यो| यी हप्ताहरुमा चखेवाहरु, मृत लास, अनि समयको महत्व अझ बुझ्नु, बादलका पत्रहरुभित्रबाट प्रकृति नियाल्नु औ त्रिशुलीको अकिन्चनता हेरेर टोलाउनु कम्ती यादगार रहेनन्| विस्फारित आखाहरूजस्तै मैले समयको पावन्दी अझै आभाष गरें, यानी समय बितिसकेछ, रफ्तारमा! त्रिशुलीका ति छालहरू सम्झे, उर्लदो भेल र अनित्य वर्षात्, फेरी शान्त त्रिशुली हेरें, जीवनको परिभाषा अझै नजिकै भएझै, मलाइ पहाडहरु मन परे, नदी मन पर्यो, लालुपातेहरु औ चखेवाहरु! अस्थिर प्रकृतिका परिक्षणहरुको पावन्दी बिचैमा पनि टाढा क्षितिज हेरेर टोलाउन पाएँ, पर्याप्त परिकल्पनाशीलतामा रमाउने मौका मिल्यो, समयप्रति म सधै अनुग्रहित नै छु| मलाइ आँधीहरु अनित्य हुन भन्ने थाहा छ!?



देवघाट, देवीघाट र विदुरमा जिन्दगी सिक्नु, मोक्षको बाटोप्रति लालायित हुनु औ, मन्द मुस्काउदै कर्म नै मोक्ष हो भन्नु, कम्ति तिलस्मी छैनन् यी आवेगहरु, कतिले उद्वेलित भन्छन, कति आक्षेप लगाउछन, सधैझै यो वर्ष पनि म समयलाइ शोषण गर्न चाहन्छु, यानी जिन्दगीको भरपुर रमाइलो, बेसुरा गानाहरु, प्रकृतिप्रतिको उन्मत्त प्रेम, नियात्राहरुले सजाउने वाचा गर्छु, आफैसग! त्यसो त चराहरु पनि उड्छन यहा, कतिपय रंगीन औ शोणित भएर, मलाइ वैजनी मन पर्छ! ज्यकारान्डा ब्लसमजस्तै! त्रिशुलीलाइ धन्यवाद दिन्छु, लाखौ वर्षको ग्ल्यासियल कटबाट यो रिभर टेरेस नबनेको भए? यो समय मेरो समय नहुदो हो, एकांगी बगर, या निर्जीव पथ्थर, या निर्जन पत्झर, या कुनै एउटा निस्प्रिय गल्ली हुदो हो, मान्छेहरु आउनेजाने बाटो औ हेर्ने आखाहरू, नमेटिने डोबहरु, या अन्य? एकछिन यी सबै छोडेर आफ्नो पाँचतारे जिन्दगीको लहलहाउदो पललाइ हेर्छु, अनायासै त्यही पलसग रमाउनु, गोधुलीमा तस्वीर खिच्नु, रुखहरुसग कुरा गर्नु, अनि बेसुरो अंग्रेजी तथाकथित लवजमा टेलर स्विफ्टको लभ स्टोरी गाउनु, जिन्दगी धुपझैँ बन्छ एकाएक यो स्याँठमा पनि! नागबेलीहरु आउछन, निदाउछन अनि छटाहरु फेरी रंग फेर्छन, खैरो रंग पोत्छन र फ्रेमभित्रबाटै चिहाउछन्! म त्यति नै बेला ताराहरु गन्दै हुन्छु, झर्ने प्रतीक्षामा हुन्छु, ताराहरु खसेपछि त के चाहियो र बेहद मुस्काउछु... अनर्थनै सही, टोलाइदिन्छु! दी सो मस्ट गो अन!

Comments

Popular posts from this blog

Home

The Tunnel is Mine

Madhesh blues