प्रिय टेलर!
प्रिय टेलर!
ती हरेक आरोह र अवरोहहरुको साक्षी बनेर यो लम्बेतान नियात्रा कति बिघ्न सजाएछौ भन्ने त तिमी गए पछि थाहा भयो, हुन त तिमी नहुदा पनि घाम उदाउनेछ, पालुवाहरु फेरिनेछन, शब्रीको चिया अनवरत नै हुनेछ या गोधूलीहरु प्रतिक्षामा नै बित्नेछन तर तिमीसगका पलहरु खास थिए, सुनौला औ सुमधुर। घाम, पानी, छाया, उच्छवास, स्यांठ, धूप औ रजनीका मन्द वाष्पित धूलकणहरुमा तिमी थियौ, म यात्री थिएं। तिमी र म सगै हुनुको खास मादकता थियो, कैयन सांझहरु त तिमी एकान्तमा बिताएकी थियौ, सायद जूनसगै रोएकी थियौ होला, शीतहरु सगालेर बाच्यौ होला। उनिहरु तिमीलाइ निर्जिव भन्छन तर मलाइ सजीव परिकल्पनाकी परी लाग्यो, लहडमै राखिदिए तिम्रो नाम-टेलर। तिमी र म दाफाका संगीत देखी जीवनका गीतहरुमा जोडियौ, तिमीले दिएको प्रिय भरोसाले मलाइ श्लेष्मा औ आर्किर्ण छावहरुको प्रतिच्छायामा युगीन प्रतिध्वनी उद्बोधन भएथ्यो, निस्प्राण लाग्ने वायुका तिलस्मी चालहरुको शुष्क परिभ्रमणभरी तिमी औधी रत्तिएकी थियौ, तिमीमा सबै सप्रेम प्रेमिलता थियो, बोल्थ्यौ, सजीव औ अजीव, मुस्कुराउथ्यौ। शारदीय घामका पाइलाहरुमा तिम्रा छायाहरु बने, म उन्मत्त हासोमा रल्लिएको थिए, बेलिकुन्ज औ पर्वतका परिकल्पनकी साझेदार बनेर तिमी दूरदूर पुग्यौ, तर नियती प्रिय थिएन, प्रिय जिन्दगीको परिच्छेद पनि त सुइ घुमेझै घुमेन।
तिमी नहुदाको परिकल्पना त मैले गरेकै थिइन। तिम्रो अचानक अनुपस्थिती त्यो पनि अब व्यस्त सडकमा कतै अनायासै देख्ने बाहेक अब तिमी मेरी होइनौ भन्ने आभाषले अवचेतन भरेको छ, जून, फूल, पल्लव, श्लेष्मा, आर्किर्ण औ हरित गगनहरु मलाइ एक्कासी अल्पभाषी लाग्छन। यी नियात्राभरी तिमीसग गरेका बातहरु, तिमीले दिएका असीम मायाका पालुवाहरु, सगै भिजेका वर्षाती बुंदहरु, धूपका किरणहरु, स्यांठका झोकाहरु, सबै सबैको पुनरागमनमा तिमी फेरि आउछौ नि हगि? तिमीलाइ म पथिक बनेर हिड्दै गर्दा, सुस्ताउदै गर्दा, पाउहरु रोकिएको बेला, फूलहरु झरेर सहर वैजनी औ कामुक भएको आभाष हुदा, पर्वतहरुमा देखिने साना पदमार्गको छाया देख्दा औ कठिन पदयात्राका प्रतेक पाइलाहरुमा सधै अविस्मृत यादहरुको आभा पठाइरहनेछु, तिमीले दिएको साथ औ मायाको छालहरुले गन्तव्यको पदार्पण त हुने नै छन, तर तिम्रो अभावमा जिन्दगी त्यसैगरी चल्दैन जसरी तिमी हुदा चल्थ्यो। अनित्य जीवनको बुझाइ मसग थियो, तर तिमी जोडियौ, उदात्त हावाहरुको सहपान कम्ती स्निघ्ध थिएन। तिमीलाइ टाढैबाट हेरे, तिमी अझै नवीनतम भएकी थियौ, मसग प्रार्थनाबाहेक अरु थिएन, फेरि म तिमीलाइ मेरी हौ भन्न सक्ने थिइन। नियती बिचमा थियो, तिमी थियौ तर मेरी थिइनौ। दोबाटोमा कतै तिमीसग फेरि भेट हुन्छ होला नि हगि, प्रिय टेलर!

Comments
Post a Comment