२८ किलोको बेन्च, सामरी पुल औ सोपान

 यौटा कथा...

उनी २८ किलो बस स्टपको बेन्चमा बसेर पर्खिरहेकी थिइन... आखिर आँखाहरु नै त हुन, प्रसंग कतिपयमा सम्मिलित हुन पनि सक्छन| हिउँदका उन्मत्त घामहरुको बेपर्वाह उनले निलो स्वेटर लगाएकी थिइन, औ उनका मसिना आखाहरुले मर्मश्पर्शी यादहरु बोकेका थिए, च्याउसी! कसैले भन्दिएछ, हेर्न मलाइ त त्यो बेइमानले च्याउसी भनेर ल्यायो!
उ सोध्छ, 'तिमीलाई सानै आँखा सुहाउछ नि त! साथी भनेर भनेका होलान|'
उ भन्छे, 'मलाइ त त्यो मनै पर्दैन|'




उ ढाडस दिन्छ औ साना आँखाहरु पनि मायावी भएको आभाष दिलाउछ|
'म तिमीलाई माया गर्छु!' उ अनायासै बोल्छ, औ अवाक हुन्छ...
तिमी आफ्नो करियरमा फोकस गर, धेरै गर्न बाँकी छ, तिमी राम्रो मान्छे हौ र म भन्दा राम्रो केटी पाउछौ तिमीले, उसको आक्कलझुक्कल टोन आउछ|
'मैले त तिमीलाई मन पराइसकें नि!' उ फेरी जिद्दी कस्छ|
हाम्रो जात मिल्दैन, मेरो ममीले मान्दैन, उ थप्छे| यावत सम्वार्ताको नाउ तरेर तिनीहरु मेरो अघिअघि हिडीरहन्छन, मलाइ अल्छीपनाले सताएको बखत तिनीहरुको सम्वार्ताको धीमा खेस्रा मथिंगलभरि मिसाएर म आफै लेख्छु बाँकी यावत आयामहरु-झील, झ्याल, औ झ्यालिंचाहरुको! अनि म पोखिन्छु...
राप्ती औ कर्रा खोलाका मायावी छालहरुको उत्प्रेषणका नागबेलीहरुले बेलीकुंजको बाटो गरेर कतै तिमीसम्म आइपुगे? साना भएर पनि विशालताका मधुरिमाहरुको यायावरीय परिभ्रमण उम्दो हुँदो हो त खलिहानहरुमा साटिने बेगुलाबी प्रेम किन त्यति चट्टानी हुँदो हो, फकिर भैकन पनि घोंगीको इम्तिहान लिएर साना औ तिलस्मी लाग्ने छायाचित्रहरु आखिर कोरिए किन?
मलाइ पैनीको बाटोमा स्तुत्य ओठहरुको सम्मिलन उस्तै चखेवी कायाहरुमा हेर्न मन हुन्छ, एउटा बिंडी सल्काएर पीपलको फेदमुनि जान्छु, 'कास गुराँसको फेदमुनि नभएर पीपलको फेदमुनि भैदिएको भए त फुलवा यतै आउथी होला है?' मलाइ पताहरुसगै प्रेम भयो, तीनपिप्ले प्रेम!
आखिर कसरी हँ? म दोभाषे हुँ, मलाइ तीन पीपलहरुको संगीत उद्दरण गरेर अमर प्रेमको गीत, शरदको प्रेमिल शीत, औ अमरावतीमा गुन्जिने कोमल संगीत लेख्न मन छ-चराजस्तै!
'तिमीले लेखेको बुझ्न शब्दकोष चाहिन्छ मलाइ त!' उ भन्छे, उसलाई चाहि चुरियामाइ औ सीमा लजका रंगीन प्रेतकल्पहरुको स्वप्निल स्मृत अजर छ रे, हराउंछ उ विगतका तरेलीहरुमा!
मलाइ २८ किलोको बेन्च गएर बस्न मन हुन्छ, मोटो स्कुटर रोक्छु र बस्छु पनि, केयु जानेहरुको ताँती छ, सपनाहरु आवतजावत हुन्छन यो काँठमा, हाँस्छु एक मुठी फिक्का मुस्कान| अधीर अन्तस्करणको गुलाबी बुँदलाइ उराल्छु, उनीहरु कहाँ होलान अहिले? सोध्छु आफैसग-सायद अमर प्रेममा चुर्लुम्मै डुबेका छन् कि? एक मनले भन्छ, अर्को आफैलाई सम्झाउंछ, किन म ती दुइ जनाको पछी परेको छु आखिर? ब्रिजका दुइ पेपर, स्पेसल इस्यु, लेखिएको औ ल्यापटपको अगाडी टाँसीएको स्टिकी नोट्स याद आउँछ, उसले उसलाई भनेजस्तै, मलाइ तिमी मन पर्छ भन्ने मन हुदैन, म निराश हुन्छु!
अन्त्यमा,
म उठेर एक सोपान यादहरुको दरबार बनाउँछु, जहाँ प्रेमहरु निर्वस्त्र राज गरुन औ पल्लवित होउन, किन आखिर? मलाइ यावत मुलाहिजाका निम्ति बनेका प्रेमिल गढीहरुमा रोष छ, समय ओ धीरे चलो! छाया, उपहास, यान्त्रिकता, सान्निध्य सबै सबैको त्रिवेणी मलाइ लेख्न मन छ-तिमीसग, औ उनीहरुजस्तै, सामरी पुल तरेर २८ किलोको बेन्च फेरी याद आओस, खलिहानहरुका धीमा, शुष्क, गोधुलिमय औ प्राङ्गारिक प्रीतहरुको, यानी तिम्रो याद, मात्रै तिम्रो!

Comments

Popular posts from this blog

Home

कृतवेदिन्: आभारका दुइ शब्द

लाउरा