बा
तिमी गयौ! उनको बारेमा चाहि केही लेख्दैनस? प्रसंग कतिपयमा सोधिने प्रश्नहरुले आँधी ल्याउछन, के म साच्चै केही लेख्न सक्दिन? अनवरत औ अजर प्रेमको अव्यक्त पाठशालाको ढोका कहिल्यै नखुल्ने हो त? मथिंगलको तुवाँलोले विस्मृत भैकन पनि तिमीले दिने यावत आरोही साथहरु हुन्जेल म लेख्न कसरी सकूँ र! साथ छोडेपनि तिम्ले र मैले सगै हेरेका ककेसस पर्वत, एन्डीजका शृंखलाहरु, मरुतलका उच्छ्वासहरु, खलिहानहरु, बेमेल औ बेलगाम नृत्यांगनाझैँ लाग्ने सुस्केरा, धूप, सन्देह, औ परिभ्रमणको व्यग्रताहरुमा आउने तिम्रो एक मुठी सप्कोको नियत क्लिष्ट औ संदेही छ-मलाइ तिमी टाढिएको रत्तिभर भ्रम छैन, यानी तिमी अमर बन्यौ, म संगममा मिलें!
अब माथि जानुभो, भगवानको साथमा-कसैले मेरा आँखाका डिलहरु पुछेर भन्दियो, मैले तिमीलाई त्यतिबेलासम्म हातको रातो आगोको लप्काले जलाइसकेको थिएँ, म तिमीलाई धरामा सजीव बनाउन चाहन्थे, तिमीलाई कतै नदुख्ने, नबिझ्ने गरेर कफिनभित्र सजाएर हरेक याम तिमीमाथि बसेर तिमीसग रुमानी बातहरु गर्न चाहन्थें, तिमी र म सधैं बस्ने अमलाको रुख रोप्न चाहन्थे औ तिमीले जवाफ नदिए पनि म यावत प्रश्नहरु सोध्न चाहन्थें, तर तिम्रो काँधमा चढेर, धूमिलझैँ लाग्ने कुनै परिकल्पनाको राजकुमारजस्तो तिम्रो रिभल्वर औ फुलीमाथि सुसू गरेर भन्न चाहन्थें-बुवा मैले सुसू गरें, तिमी मुसुक्क मुस्कुराउदै आफ्नो बर्दी उतारेर सुकाउथ्यौ होला हगि? मलाइ तिमीले कन्ठस्थ गर्न दिएका सबै दर्ज्यानीहरुको फिरिस्त अझै मलाइ याद छ बा-तिमी सुन्न चाहन्छौ? मलाइ धर्म मान्नु थिएन, जब तिमीलाई म सजीव औ युगीन बनाउन चाहन्थें, तिमीले दिएको धर्मले मलाइ तिमीलाई नै जलाउन लगायो बा-मलाइ यो युग यो आभा, यो धरा सबै खिन्न लाग्यो! तिमी अमर बन्यौ, म त फेरी संगम मै त मिलें!
बा माथि जानुभो! कसैले भन्दियो मलाइ, हो र? तिमीलाई मैले ३४००० फिट माथि पुगेर पनि त खोजें, हरेक बादलका टुक्राहरु, ताराका चमकहरु, सृजन लाग्ने पर्वतहरु, नौका, नहर सबैतिर खोजें, तिमी माथि कति धेरै टाढा पुगेछौ, कैयन रातहरुमा मैले ताराहरु गनेर कतै तिम्रो आकृति भेट्छु भनेर अनिदा रातहरु पनि त बिताएँ, तर तिमीले भन्ने गरेझैं तिमी आफैचाहि कहिल्यै एउटा तारा बनेनौ हो? या बनेर पनि मलाइ यहाँ छु भन्न सकेनौ?
अचलझैं लाग्ने चराचरभरिको अनावृत आकांक्षाको लेखनीभरि म तिमीलाई मसी नसकिन्जेल लेख्न चाहन्छु, तिम्रो मधुर मुस्कानका महाकाव्यहरु कति अलिखित छन्, कति रहन्छन होला? स्वार्थी छु म बा! सुमधुर रात्रिहरु, मिलाप, प्रिय आयामहरुमा तिम्रो कमै याद आउंछ, तर विनियम कठिनाइहरुको बाटो हिड्दा टक्क अडिएर आकाशतिर हेर्छु, फेरी तिम्रो काँधमा बसेर तिमीले लगाउने फुलीको फित्ता सुटुक्कै उठाउदै सिट्टी फुक्न मन छ मलाइ! आकाशहरुले ढाक्ने तिम्रो आकृति सम्झिदै मलाइ तिमी गएको माथिसम्मै उड्न मन छ, औ बादलका पर्दा उघार्दै काँठे लवजमा-बा म तिम्रो मुख आइतें, संदेश पठाउन मन छ! बा म तिमीलाई अगाध माया गर्छु, त्यसैले लेख्न सक्दिन तिम्रो बारेमा! मसग शब्दहरु छैनन्, म सरित छैन तिमीलाई सम्झिदा, आँखाहरु मात्रै खहरे बन्छन बा, मलाइ माफ गर!

Comments
Post a Comment