आरुका फूलहरु: दुर्दान्तको काया, दीक्षा, औ छोसेरको छोर्तेन

पूर्वी आकाशमा आरुका फूलहरुजस्तै ताराहरु एकनास उल्लासित थिए, हिमालका फिका मुस्कानहरु नखुल्दै तिमीसग प्रेम भयो!

रातहरुले नयनका पर्दा नउघार्दै पदचापहरुको छायाचित्र कोरेर म तिम्रो अमर प्रेमको बाटो गएको थिएं, यात्री- कस्ले भन्यो? नियात्री हो म यात्री होइन, आंखै अगाडिको माछापुच्छ्रे औ मर्दी हिमाललाइ साफसाफ भन्दिएं, हो म नियात्री हो! बेसक्याम्पहरु ठुस्स परे, मैले फेरि भन्दिएं, ठुस्की! नाकको डांडीमा रिस भएकाहरु!
मोदीको तिरैतिर सुस्काहटमा अमृत यादहरुको झोला थपेर मलाइ फांटजस्ता लागेपनि उतिबिघ्न बयेली नभरिएका स्निघ्ध लालिमाहरुसगै पथिक हुने मन भयो-एक्लो बिल्कुल एक्लो!



आक्कलझुक्कल बेसक्याम्पबाट फर्किनेहरु सोध्छन, ट्राभलिङ योर्सेल्फ? म नसुनेझैं गरेर मुसुक्क हांस्छु औ भन्दिन्छु थ्री! हाउ कम? एउटालाइ गज्जब लागेर प्रश्नार्थी हुन्छ। स्याडो, हर ह्यालुसिनेसन्स एन्ड मी, म सम्वार्ता छोट्याउन चाहन्छु, झन्डै ४००० मिटर पुगिसकेपछि मलाइ बोली कम औ पर्याप्त परिकल्पनाको साथ प्रिय हुन थाल्छ, तिमी दक्षिणी मोहडाबाट यतै झर्दै गरेकी भेटिए है? मनोवादको शृङ्खलाको एउटा पर्वत उरालिन्छ, भावहरुको बेमेल पर्दा हुदै अनायासै साटिएका ती अमर प्रीतका बुंदहरु कति शुष्कताको आभाष गर्दा हुन? कुहिरोभित्र असरल्ल वाष्पित छायाहरुसगको फोटो खिचेर संयोगका आकृतिहरुको सामजस्य मिलाउने उत्कटताको नियात्री योजना पनि त सरित थियो!(?)
उच्छवासका युगीन आवेगहरुले शैशवी बनाएको मोदी खोलाको सुस्केराले मेरो श्रुति भङ्ग गरेर भन्यो, तिमी जरुर प्रेम गर्छौ! शारदीय स्पर्शले सज्जित लालित्यहरुका इन्द्रेणीहरुको स्वप्निल तस्वीर खिचेर विस्तारै भन्छु, यस्तै फल फोलिएजहरुमा तिमी कहां पो छैनौ र? भाष्य-अभाष्य, मेल-बेमेल, श्रव्य-दृष्य, शरद-शिशिर, याद-आभा, सजीव-निर्जिव, सबैसबैमा तिम्रा प्रिय यादहरु, आभाहरु, लालित्यमा पोखिएका आभाषहरु, मधुर लाग्ने बोलीहरु, बयेलीहरु, अनि उस्तै यादहरुको रसास्वादनलाइ ल्याएको हरियो मफ्लर औ सुवासहरु विचरण गरिरहन्छन, मलाइ बेलीकुन्जहरु हरियो मफ्लरझैं लाग्छन, अनित्य तारहरुमा पनि सजल भै जोडिने मायावी संवार्ताहरुजस्तै, अनिदा रातहरुजस्तै, प्रिय भैकन पनि अव्यक्त स्फुरणहरुको एउटा झ्याल, जस्लाइ म तेस्रो नेत्र भन्थें औ बन्ने आकृतिहरु हेरिरहन्थें, जरुर यो प्रेम हो!

Comments