मेरो सहर सुतेको छ
मेरो सहर सुतेको छ,
नबोलाउ उस्लाइ, उ मातेको छ।
चिया अड्डामा गएर दुइटा चिया मगाएं। अचम्ममा पर्यो चियावाला, चिया ल्यायो। चियालाइ दुइ कुर्सीको अगाडी राखें र भने म र अर्को म, तिमीहरु दुबैलाइ आज चिया खुवाउंछु। नभले साइत पारिदियो, निस्पृह उत्सर्जनको युगीन कथावस्तुमा आधारित चलचित्रझैं ऋतु फेरियो, आह्लाद, वर्षात, विस्मय, रजनी, अनन्त ज्वारभाटा औ फाहरु। स्निघ्ध सावनको घटा हेर्दै, बुंदहरु गनेर मैले एउटा कप सिनित्त पारें, टोलाउदै अर्को कपसम्म पुगें, मधुरिमाको आकांक्षाकृत शार्दुल परिदृश्यमा केही अवयवहरु ओइरो लाग्यो! तिमीलाइ कुहिरो मन पर्छ? मैले हिउंदको कुनै बेनामी रात ढल्दै गर्दा सोधेको थिएं, म तिम्रा कुरा बुझ्दिन, रत्तिदै त्यस्ले भनेको उद्दरणले बहकायो। ह्या के गर्ने र कुहिरो मन पराएर, कामका कुरा गर। मलाइ त्यस्ले पवन, स्यांठ, हिमाच्छादित पर्वतहरु, रोसनीका पहिला औ पहेंला रागहरु मन पराइदेओसजस्तै लाग्थ्यो। अझ मलाइ त त्यो भावनाहरुमा सरित, पर्दाहरुमा हरित, विस्मयहरुमा चरित औ नियात्राहरुमा अवतरित होस भन्ने लाग्थ्यो। अनायास त्यस्ले भनी आइ डोन्ट गेट यु मोस्टली, मैले इमोटिकन्सको दिलदार मुस्कान त्यैसैबेला छोडेर हिडेको थिएं, पानको पातका आकृतिलाइ मझधारमा राखेर इनिसियल्स मिलाउदै उत्कटताको नीरब अजङ्ग बनाएजस्तो लाग्ने तिलस्मी शरद पनि त आखिर बेपर्वाह बित्यो। अदभुत आकृति विस्तारै फुटिरहे, अनायास कैलासको पान झल्झली भो, कान्छी (मोटो) लाइ सोधें, तयार छौ? उस्ले हास्दै अग्रबत्ती बाली औ आवाज दिइ, अन्त्य त उस्तै प्रेमिल खलिहानहरुका बगलमा हुनेजस्तै बिना सुपाडीको एउटा मलाइ मै अडियो, शुष्क वतास थियो, वर्षात थिइ, शब्रीको बाटो थियो, चन्द्रागिरीलाइ दाहिने पारेर वर्षातका बूंदहरु झरिरहे, तृषित औ प्रेषित बनेर, झरिरहे पानाहरु, विस्मृत पाइलाहरु, अनित्य छहराहरु, भाष्य भैकन पनि अव्यक्त जिपिएस लोकेसन्सहरु!
मेरो सहरमा कर्फ्यु छ
नबोलाउ उस्लाइ, उ सुतेको छ।

Comments
Post a Comment